गोरखा-गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, झोलुङ्गे पुल, पक्की पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा आपत्कालीन उद्धारका लागि आवश्यक तयारी गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार चुमनुब्री गाउँपालिका–३ स्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही वडाको सिर्दिबासमा स्थानीय रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा बाढी पसेको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ को माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछीखोलाको तल्लो बस्तीमा ५ देखि ७ वटा घर र त्यति नै संख्यामा टहरामा बाढी पसेको प्रारम्भिक विवरणमा उल्लेख छ। धार्चे गाउँपालिका–३ को सल्लेरीमा २० देखि २२ वटा घर जोखिममा रहेको मन्त्रालयले जनाएको छ।
बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगाएको छ। यस्तै, चुमनुब्री गाउँपालिका–३ को सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस र वरपरका ७ देखि ८ वटा घर बगाएको मन्त्रालयको विवरणमा उल्लेख छ।
आरुघाट गाउँपालिका–९ को नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने तीन खण्डको पक्की पुलमध्ये गोरखातर्फको एक खण्ड बगाएर क्षति पुर्याएको छ। पुलमा क्षति पुगेपछि उक्त सडकको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।
स्वास्थ्य संस्था कम जोखिममा
मन्त्रालयका अनुसार फिलिम, सल्लेरी, जगत र माछाखोलामा रहेका स्वास्थ्य संस्थाहरू माथिल्लो उचाइमा रहेकाले तुलनात्मक रूपमा कम जोखिममा छन्।
बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली (आरआरटी) तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोली (ईएमटी) लाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।
बाढीबाट भएको क्षतिको यो प्रारम्भिक विवरण भएकाले थप विवरण संकलन तथा क्षतिको यकिन आकलन हुन बाँकी छ।

हेर्नुहोस् गण्डकीको स्वास्थ्य मन्त्रालयबाट प्राप्त क्षतिको प्रारम्भिक विवरण–
चुमनुब्री गा.पा. ३, न्याकचेत स्थित न्याकचेत बाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको ।
चुमनुब्री–३, सिर्दीबास बस्ने राम ब. गुरुङको १ वटा कच्चि घर बगाएको, १ वटा घरमा बाढि पसेको ।
धार्चे गा.पा.–५, माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको ।
धार्चे – ५, माछीखोला स्थित तल्लो बस्तिमा बाढि पसेको ५/७ वटा घर, ५/७ वटा टहरामा बाढी पसेको ।
धार्चे –३, सल्लेरी स्थित २०/२२ घरहरु जोखिममा रहेको ।
आरुघाट गा.पा. २ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको, ।
चुमनुब्री गा.पा. ३, सल्लेरी स्थित निर्माणाधिन सहज उर्जा पावर हाउस र वरपर रहेका ७/८ वटा घरहरु बगाएको, ।
आरुघाट गा.पा. ९, नयाँपुल स्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुल तिन भाग रहेकोमा गोरखा तर्फको एक भाग बगाई क्षति भएको,बाटो पुर्णरुपमा अवरोध रहेको ।



प्रतिक्रिया