काठमाडौं-हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ।
यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामै कैलालीको बलियामा ३१ मिलिमिटर वर्षा भएको छ। कन्चनपुरको सुन्दरपुरमा ९ मिलिमिटर, बैतडीको गोकुलेश्वरमा ७ मिलिमिटर, बर्दियाको बर्गादहमा ६.८ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो चौबीस घन्टामा स्याङ्जाको पुतलीबजारमा ११८.४ मिलिमिटर वर्षा मापन भएको छ भने नवलपुरको डेढ गाउँमा ८०.४ मिलिमिटर वर्षा मापन भएको छ।
सोमबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान, मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका समेत एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ|
त्यस्तै लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुने पनि पूर्वानुमान छ।
सोमबार राति देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया