अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी-पहिरोले देशभरका मुख्य सडक अवरुद्ध

बाढी-पहिरोले देशभरका मुख्य सडक अवरुद्ध


काठमाडौं-अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ः३० बजेसम्मको विवरण अद्यावधिक गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।

लगातारको वर्षाका कारण कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। केही स्थानमा यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशअन्तर्गत पृथ्वी लोकमार्गको धादिङस्थित गजुरी गाउँपालिका-२ चालिसेमा भदौ १ गते बिहान ५ः४५ बजेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।

सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग र कान्ति लोकपथमा रात्रिकालीन सवारी सञ्चालनमा समेत रोक लगाइएको छ। काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी खण्डमा पर्ने बीपी राजमार्गमा अर्को सूचना नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, मकवानपुरको हेटौँडा-ठिङ्गन हुँदै ललितपुर जोड्ने कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशीस्थित कोदारी र लिपिङमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ। रसुवाको उत्तरगया गाउँपालिकास्थित खाल्टेमा बाढीका कारण त्रिशूली-मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि साउन ८ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध रहेको छ।

कोशी प्रदेशमा इलामको राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए पनि वैकल्पिक बाटोबाट यात्रा गर्न सकिने व्यवस्था मिलाइएको छ। सङ्खुवासभाको भोटखोलास्थित सिरेक डाँडामा खाँदबारी–किमाथाङ्का सडकखण्ड पनि पूर्ण रूपमा बन्द छ। भोजपुरको बोखिममा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग भने पहिरो पन्छाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

गण्डकी प्रदेशमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–स्थित रुप्सेमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। मुस्ताङस्थित कैकु खोलामा भने सोही सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

लमजुङको मर्स्याङ्दीस्थित रामबजारमा पहिरोका कारण बेँसीसहर–मनाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यहाँ वैकल्पिक बाटोको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। बागलुङको कालीगण्डकी करिडोर र बागलुङ–बेनी सडकखण्ड पनि पहिरोका कारण एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्।

लुम्बिनी प्रदेशको प्युठानस्थित रुमालेमा साउन ३१ गते खसेको पहिरोका कारण भिंगृ–स्वर्गद्वारी सडकखण्ड अझै पूर्ण रूपमा बन्द रहेको छ।

कर्णाली प्रदेशमा बाढी र पहिरोका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड दुई स्थानमा अवरुद्ध छ। रुकुम पश्चिमको आठबीसकोटस्थित रिजेगार्ड खोला र पिपलचौरमा सडक पूर्ण रूपमा बन्द भएको हो।

यसैगरी, सल्यानको कपुरकोटस्थित अरिङ्गालेमा पहिरो खसेपछि राप्ती राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभाग र प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्। तर, लगातारको वर्षाका कारण पहिरो पन्छाउने तथा सडक मर्मत गर्ने काममा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। सडकको अवस्था हेरेर यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन सम्बन्धित निकायले यात्रु तथा चालकलाई आग्रह गरेका छन्।