विराटनगर-जिल्ला कारागार मोरङमा सोमबार बिहान सुरक्षा निकायले चलाएको खानतलासी (सर्च) अप्रेसनपछि कैदीबन्दीहरू आन्दोलित भएका छन्। विराटनगर-८ हाटखोलास्थित कारागारको ‘बी ब्लक’का कैदीबन्दीहरू आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्नेलगायतका माग राख्दै भवनको छतमा चढेर नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन्।
कारागारभित्र लागूऔषधलगायत अवैध वस्तु लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार बिहानैदेखि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी खानतलासी गरिएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारागारमा सर्च अप्रेसन सञ्चालन गरिएको हो।
खानतलासीका क्रममा कैदीबन्दीले प्रशासनको विरोध गर्दै छतमा चढेर प्रदर्शन गरेका थिए। आन्दोलनका क्रममा उनीहरूले कारागारभित्र मुढा बनाउन राखिएका टायर छतमा लगेर बाल्ने प्रयाससमेत गरेका थिए। आगो निभाउन दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ। केही स्थानमा तोडफोडसमेत भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कटुवालले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बेला–बेलामा गरिने नियमित खानतलासी प्रक्रियाकै क्रममा कैदीबन्दीहरू आन्दोलित भएको बताए।
खानतलासीका क्रममा गम्भीर प्रकृतिका अवैध वस्तु फेला नपरे पनि प्रशासनले केही शङ्कास्पद कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो। तर, कैदीबन्दीको तीव्र विरोध र अवरोधका कारण स्थानान्तरण प्रक्रिया तत्कालका लागि स्थगित गरिएको प्रहरीले जनाएको छ।
खानतलासी सकेर सुरक्षा टोली फर्किएपछि अहिले कारागार क्षेत्रको अवस्था सामान्य भइसकेको मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कारागार परिसरमा उच्च सुरक्षा सतर्कता अपनाइरहेको छ।


प्रतिक्रिया