काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली साहित्यका प्रखर सर्जक तथा जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।
जनकवि श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत काव्य तथा कला क्षेत्रमा उनले पुर्याएको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका हुन्।
अध्यक्ष ओलीले ‘फूलको आँखामा फूलै संसार–काँडाको आँखामा काँडै संसार’ र ‘सयथरी बाजा एउटै ताल–सयथरी गोडा एउटै चाल’ जस्ता सयौँ कालजयी रचनामार्फत श्रेष्ठले नेपाली जनमानसमा कहिल्यै नमेटिने छाप छाडेको बताएका छन्।
श्रेष्ठ भौतिक रूपमा हामीमाझ नरहे पनि उनका अमर गीत तथा कविताहरू सधैँ गुञ्जिरहने ओलीको भनाइ छ।
अध्यक्ष ओलीले जनकवि श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा साहित्यानुरागीहरूमा गहिरो समवेदना व्यक्त गरेका छन्।


प्रतिक्रिया