बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा सरकारलाई समर्थन गर्ने दलका सांसदहरू नेकपा एमालेको संसदीय कार्यालयमा भेला भएका छन्।
एमालेसहित सरकारको पक्षमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चालगायत दलका सांसदहरू एमाले संसदीय कार्यालयमा जुटेका हुन्। उनीहरू सामूहिक रूपमा प्रदेशसभा बैठकमा सहभागी हुने तयारीमा रहेका छन्।
सांसदहरूको उपस्थितिसँगै मुख्यमन्त्री आचार्यको पक्षमा आवश्यक बहुमत सुनिश्चित भएको सत्ता पक्षको दाबी छ। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मतका लागि सत्ता गठबन्धनका दलहरूबीच यसअघि नै आवश्यक समन्वय भइसकेको बताइएको छ। एमाले संसदीय कार्यालयमा भएको छलफलमा प्रदेशसभा बैठकमा सरकारको पक्षमा मतदान गर्ने विषयमा सांसदहरूबीच सहमति भएको जनाइएको छ।
नेकपा केन्द्रका लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजित थारुले आफ्नो पार्टीका सबै सांसदहरूले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने निर्णय गरिसकेको जानकारी दिए। उनले सत्ता समीकरणमा रहेका दलहरूबीच पनि आवश्यक समन्वय भइसकेकाले विश्वासको मत पारित हुनेमा आफूहरू विश्वस्त रहेको बताए।
मुख्यमन्त्री आचार्यले सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।


प्रतिक्रिया