अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद


दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेशसभाको आठौँ अधिवेशनको १९औँ बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् भने विपक्षमा २६ मत परेको छ।

मतदान प्रक्रिया सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गर्दै विश्वासको मत हासिल गरेको औपचारिक घोषणा गरेका हुन्। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका थिए।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए। हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा उपस्थित थिएनन्।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक परिस्थितिमा मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन्। कांग्रेसको समर्थन फिर्तापछि पनि सरकारमा रहेका दलहरूको समर्थन कायम रहँदा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा बहुमत जुटाउन सफल भएका छन्।