विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्रीहरूको जिम्मेवारी बाँडफाट गरेका छन्।
नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैंसँग राखेका छन्। मन्त्री खिनु लङवा (लिम्बू) लाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्।
त्यसैगरी तिलचन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ। गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानून मन्त्रालयको नेतृत्व गर्ने भएका छन् भने विदुरकुमार लिङ्थेपलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने गीता तिम्सिनाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन्।
मन्त्रिपरिषद्मा दुई जना राज्यमन्त्रीलाई पनि समावेश गरिएको छ। उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री तथा सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
मुख्यमन्त्री कार्कीले सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउने उद्देश्यले मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताएका छन्।


प्रतिक्रिया