अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अविरल वर्षापछि देशभरका मुख्य राजमार्ग अवरुद्ध, दर्जनौँ सडकखण्डमा यातायात प्रभावित

अविरल वर्षापछि देशभरका मुख्य राजमार्ग अवरुद्ध, दर्जनौँ सडकखण्डमा यातायात प्रभावित


काठमाडौं-अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन्।

कोशी प्रदेशमा मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक सडक भने उपलब्ध रहेको प्रहरीले जनाएको छ। यस्तै, मध्यपहाडी लोकमार्गको भोजपुरस्थित बोखिम खण्ड बाढीका कारण एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ।

बागमती प्रदेशमा पनि विभिन्न सडकमा बाढी, पहिरो तथा रातिको समयमा लगाइएको आवागमन प्रतिबन्धका कारण यातायात प्रभावित भएको छ। बीपी राजमार्ग सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म पूर्ण रूपमा बन्द गरिँदै आएको छ। बिहान ४ बजेपछि सडकको अवस्था हेरेर सवारीसाधन सञ्चालन गर्न दिइने गरिएको छ।

त्यस्तै, कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। अरनिको राजमार्गको भोटेकोशीस्थित कोदारी र लिपिङ क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडकको उत्तरगया गाउँपालिकास्थित खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा बन्द भएको छ।

गण्डकी प्रदेशमा बेँसीसहर–मनाङ सडकको मर्स्याङ्दी गाउँपालिकास्थित रामबजारमा पहिरो जाँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीका कारण जोमसोम–कोराला सडक पनि पूर्ण रूपमा बन्द छ भने बेनी–जोमसोम सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। कालीगण्डकी करिडोर तथा बागलुङ–बेनी सडकका विभिन्न स्थानमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशमा भने सडक अवरोधको अवस्था थप गम्भीर देखिएको छ। जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिमस्थित रिजेगार्ड खोलामा आएको बाढीका कारण यातायात अवरुद्ध भएको छ। भेरी करिडोरको रुकुम पश्चिमस्थित चिसापानीमा बाढीका कारण यातायात ठप्प भएको छ। त्यस्तै, नाग्म–गमगढी सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

लगातारको वर्षाका कारण सडकमा बाढी, पहिरो र कटानको जोखिम कायमै रहेकाले प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त सडकखण्डमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।