मकवानपुर-मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कार्पियो दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत न्यायाधीश डाँगी, तारादत्त बडुकी पत्नी लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडुलाई काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको हो। दुर्घटनामा लक्ष्मीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार तारादत्त बडु र सवारी चालक छुनिलाल चौधरीलाई भने थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
मंगलबार बिहान काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश–३–०२–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी–६ स्थित जुरिखेतमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको थियो।
दुर्घटनामा तुलसीपुर–९, दाङका ५७ वर्षीय न्यायाधीश गोकर्ण डाँगी, बैतडी दशरथचन्द–७ का ५१ वर्षीय रजिष्ट्रार तारादत्त बडु, उनकी ४९ वर्षीया पत्नी लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु, ३१ वर्षीया दिदी रिता बडु र दाङ राप्ती–८ का ३२ वर्षीय चालक छुनिलाल चौधरी घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेमध्ये लक्ष्मीको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको जानकारी दिए।


प्रतिक्रिया