अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीले भदौ ५ मा विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री कार्कीले भदौ ५ मा विश्वासको मत लिने


विराटनगरकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८३ भदौ ५ गते शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

 नेकपा एमालेका सांसद रेवतिरमण भण्डारीले भदौ ५ गते शुक्रबार विश्वासको मत लिने गरी तयारी भइरहेको जानकारी दिए।उनले नेपाली कांग्रेसले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि नेकपा सरकारमा सहभागी भइसकेकाले विश्वासको मत लिन लागेका बताए। ‘नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छैन, तर नेकपा सरकारमा सहभागी भइसकेको अवस्था भएकाले मुख्यमन्त्रीज्यूले नैतिकताका आधारमा विश्वासको मत लिनुहुनेछ,’ सांसद भण्डारीले भने।

भदौ १ गते सोमबार नयाँ मन्त्रीहरूको शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पनि चाँडै विश्वासको मत लिने बताएका थिए।

सत्ता साझेदार दल नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मतसम्बन्धी विषयमा आजै छलफल हुने जानकारी दिएका छन्।

मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। २०८३ साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार नेकपा सोमबारदेखि कोशी प्रदेश सरकारमा सहभागी भइसकेको छ।