हेटौँडा-बागमती प्रदेशको नयाँ मुख्यमन्त्री चयनका लागि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक मंगलबार बस्दै छ। हेटौँडामा हुने बैठकले संसदीय दलको नेता तथा भावी मुख्यमन्त्रीको टुंगो लगाउने अपेक्षा गरिएको छ।
बैठकअघि एमालेका शीर्ष नेताहरूबीच सहमति जुटाउने प्रयास तीव्र बनाइएको छ। एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको उपस्थितिमा उपत्यका प्रदेश इन्चार्ज डा. राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, उपत्यका अध्यक्ष नारायण सिलवाल र प्रदेश उपाध्यक्ष दावा दोर्जे लामासहित नेताहरूले आन्तरिक छलफल गरेका छन्। नेताहरूले मध्यमार्गी विकल्प खोज्दै सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन्।
हेटौँडामा भएको छलफलमा प्रदेशसभा सदस्य तथा मुख्यमन्त्रीका आकाङ्क्षी किरण थापा, संसदीय दलका नेता जगन्नाथ थपलियालगायत नेताहरूसँग परामर्श गरिएको थियो। सहमति जुटेपछि संसदीय दलको बैठकमार्फत औपचारिक निर्णय गरिने एमाले स्रोतले जनाएको छ।
यसैबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिसकेका छन्। मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय बिहीबार अपराह्न ४ बजेसम्म तोकिएको छ।
बागमती प्रदेशसभामा एमाले-नेकपा गठबन्धनसँग हाल ५१ सांसदको समर्थन रहेको छ। सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन गठबन्धनलाई थप दुई सांसदको समर्थन आवश्यक पर्ने भएकाले त्यसतर्फ पनि राजनीतिक संवाद जारी रहेको बताइएको छ।


प्रतिक्रिया