ललितपुर-ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका मिटरब्याज, सहकारी, लघुवित्त, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी पीडितहरूसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटघाट गरेकी छन्।
समस्या समाधानको माग राख्दै धर्नामा बसेका पीडितहरूलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी मंगलबार पुल्चोक पुगेकी हुन्। उनले पीडितहरूका समस्या र उनीहरूले उठाएका मागबारे चासो व्यक्त गरेकी छन्।
मधेसका विभिन्न जिल्लाबाट पैदल मार्च गर्दै काठमाडौं आएका पीडितहरूले साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि उनीहरूले आयोगको कार्यालयबाहिर निरन्तर धर्ना दिँदै आएका छन्।
धर्नाको पाँचौँ दिन मंगलबार पनि पीडितहरू विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर न्यायको माग गर्दै पुल्चोकमा बसेका छन्। उनीहरूले मिटरब्याज, सहकारी तथा लघुवित्तको ऋणसम्बन्धी समस्या समाधान गर्न तथा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या सम्बोधन गर्न सरकारसँग माग गर्दै आएका छन्।
वर्षौंदेखि ऋणको चक्रमा फसेका तथा आवासको समस्या झेलिरहेका सर्वसाधारणले आफ्ना माग पूरा गराउन काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका हुन्।



प्रतिक्रिया