काठमाडौं-बुढीगण्डकी नदीमा आएको बाढीका कारण त्रिशूली नदी आसपासका विभिन्न क्षेत्रमा जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले बेनीघाटदेखि मुग्लिङसम्म उच्च जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले सूचना जारी गर्दै त्रिशूली नदीको बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेको, मुग्लिङसम्म उच्च जोखिम रहेको तथा चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेको जनाएको हो।
महाशाखाका अनुसार बुढीगण्डकी नदीमा पानीको सतह खतराको तहभन्दा माथि रहेको छ। नदीको बहावमा बढ्ने र घट्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सतर्क रहन र नदीको बहाव नजिक नजान आग्रह गरिएको छ।



प्रतिक्रिया