गोरखा-बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा ३५ देखि ४० वटासम्म घर बगाएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीले जगत बगर, सल्लेरी र घट्टेखोलाका घरहरू बगाएको हो।
चुमनुब्री गाउँपालिकाका प्रशासनिक प्रमुख नारायणप्रसाद सापकाटाका अनुसार बाढीले ती क्षेत्रका घरमा क्षति पुर्याएको छ। उनी अहिले गाउँपालिकाको केन्द्र सिर्दिबासमा छन्।
उनका अनुसार बाढीको अवस्था क्रमशः सामान्य हुँदै गएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको र उद्धारका लागि हेलिकप्टरसमेत परिचालन गरिएको उनले बताए।
‘बाढीको अवस्थाचाहिँ सामान्य हुँदै गएको छ। अहिले उद्धारमा खटिएका छौँ। हेलिकप्टर आएर उद्धार गरिरहेको छ,’ उनले भने।
यसैबीच, सिर्दिबासबाट चुम्लिङ अर्थात् चुम उपत्यकातर्फ जाने बाटोमा रहेका चारदेखि पाँच जना गोठाला सम्पर्कविहीन रहेको सापकाटाले जानकारी दिए।
बाढीबाट भएको क्षतिको थप विवरण तथा सम्पर्कविहीन गोठालाहरूको अवस्थाबारे जानकारी आउन बाँकी छ।



प्रतिक्रिया