अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरमा ४ विद्यार्थीलाई खोलाले बगायो, एक जनाको मृत्यु, दुई बेपत्ता

मकवानपुरमा ४ विद्यार्थीलाई खोलाले बगायो, एक जनाको मृत्यु, दुई बेपत्ता


हेटौँडामकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बासुदेवमा खहरे खोलामा आएको बाढीले चार बालिकालाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। एक बालिका भने आफैँ खोलाबाट निस्कन सफल भएकी छन्।

मंगलबार साँझ निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्किने क्रममा बासुदेवस्थित खोला तरेर डाँडागाउँ जाने क्रममा अचानक आएको बाढीले उनीहरूलाई बगाएको हो।

बाढीले बगाएका मध्ये हेटौँडा–१९ बस्तिपुरका दीप स्याङ्ताङकी ८ वर्षीया छोरी रोशनी स्याङ्ताङलाई बगाएको स्थानबाट करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएकी रोशनीलाई अस्पतालले मृत घोषणा गरेको हो।

यस्तै, सोही ठाउँका टीकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी बिनिता भोलन बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ।

खोलाले बगाएकी सीताराम भोलनकी १३ वर्षीया छोरी सीमा भोलन भने आफैँ खोलाबाट निस्कन सफल भएकी छन्। उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

हेटौँडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीले विद्यालय छुटेपछि घर फर्किने क्रममा बालिकाहरू खोल्सामा आएको एक्कासी बाढीमा परेका बताए। उनका अनुसार बेपत्ता दुई बालिकाको खोजी कार्य जारी छ।

प्रहरीले पनि एक जनाको मृत्यु भएको, एक जनाको उद्धार गरी उपचारका लागि पठाइएको तथा बेपत्ता दुई जनाको खोजी भइरहेको जनाएको छ।