काठमाडौँ-नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ बुधबार पोखरा पुगेका छन्। श्रीमती कोमल सेठसहित पोखरा पुगेका उनले विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन्।
जनरल सेठ नेपाली र भारतीय सेनाका गरी १६ सदस्यीय टोलीसहित बिहान ९ः३२ बजे पोखरा पुगेका थिए। विमानस्थलबाट सिधै रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय (पीपीओ) पुगेका उनले त्यहाँ भारतीय भूतपूर्व सैनिकसँगको भेटघाट कार्यक्रममा सहभागिता जनाए ।
सो अवसरमा उनले नेपाल-भारत मैत्री विद्यालयका विद्यार्थीहरूसँग भेटघाट गर्नुका साथै मिठाइसमेत वितरण गरेका थिए। पेन्सन वितरण कार्यालयमा करिब २५ मिनेट कार्यक्रम चलेको थियो।
पोखरामा दुई घण्टा बिताएर ११ः४५ बजे नेपाली सेनाको जहाजमा उनी काठमाडौँ फर्किएका छन् । उनी आजै भारत फर्कने कार्यक्रम छ ।
जनरल सेठ साउन ३१ गते पाँचदिने नेपाल भ्रमणका लागि आएका हुन्। भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। उनले प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्चस्तरीय अधिकारीसँग पनि भेटवार्ता गरेका छन्।


प्रतिक्रिया