अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालिका हत्याको विरोधमा सिमरामा ७ घण्टादेखि सडक अवरुद्ध, सयौँ सवारीसाधन अलपत्र

बालिका हत्याको विरोधमा सिमरामा ७ घण्टादेखि सडक अवरुद्ध, सयौँ सवारीसाधन अलपत्र


बारा-तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा बाराको सिमरामा स्थानीयले करिब ७ घण्टादेखि सडक अवरुद्ध गरेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेकी ३ वर्षीया गरिमाको हत्या भएको घटनाको विरोधमा स्थानीयले प्रदर्शन गर्दै वीरगञ्ज-पथलैया सडकखण्ड अवरुद्ध गरेका हुन्।

स्थानीयले बालिका हराएको तीन दिनसम्म पनि प्रहरीले खोजीमा सक्रियता नदेखाएको तथा परिवारले किटानी जाहेरी दिएका व्यक्तिलाई समयमै अनुसन्धानको दायरामा नल्याएको आरोप लगाएका छन्।

मंगलबार साँझ बालिकाको शव भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। परिवारले भने शव भेटिनुअघि नै ती दुई जनाविरुद्ध किटानी जाहेरी दिएको जनाएको छ।

स्थानीयले सडक अवरुद्ध गरेपछि वीरगञ्ज-पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् ।

सडक खुलाउने प्रयासस्वरूप बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलगायत सुरक्षा अधिकारी घटनास्थलमा पुगेका छन् ।

तर स्थानीयले घटनामा प्रहरीको समेत लापरबाही भएको आरोप लगाउँदै दोषी प्रहरीलाई कारबाही नगरेसम्म आन्दोलन नछाड्ने बताएका छन् । उनीहरूले बालिकाको हत्यामा संलग्नलाई कडा कारबाही र प्रहरीको भूमिकामाथि निष्पक्ष छानबिनको माग गरेका छन् ।