अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा मुलुकमा संकट बढ्यो: शंकर पोखरेल

एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा मुलुकमा संकट बढ्यो: शंकर पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने धुर्मुस-सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा ठूलो परियोजना अघि बढाउनु अपरिपक्व कदम भएको टिप्पणी गरेका छन्। महासचिव पोखरेलले यही प्रसंगलाई जोड्दै नयाँ राजनीतिक नेतृत्वको कार्यशैलीप्रति पनि प्रश्न उठाएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले रकम अभाव र बढ्दो उधारोका कारण धुर्मुस-सुन्तलीको रंगशाला निर्माण परियोजना संकटमा परेको उल्लेख गरेका छन्। उनका अनुसार त्यसबाट उनीहरू पलायन हुन बाध्य भएका थिए।

महासचिव पोखरेलले अहिलेको नयाँ राजनीतिक नेतृत्व ‘रवि-बालेन समूह’को कार्यशैली पनि त्यस्तै दिशातर्फ अघि बढिरहेको दाबी गरेका छन्।

‘राजनीति लामो संघर्ष, समर्पण र राज्य सञ्चालनको कला तथा विज्ञान हो,’ महासचिव पोखरेलले लेखेका छन्, ‘केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा आज मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको छ।’

महासचिव पोखरेलले स्पष्ट योजना र दूरदर्शिताविना राज्यसत्तालाई स्वेच्छाचारी ढंगले सञ्चालन गर्दा भविष्यमा धुर्मुस–सुन्तलीकै जस्तो असमयमै पलायनको बाटो रोज्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

महासचिव पोखरेलले नयाँ राजनीतिक नेतृत्वलाई समयमै सचेत हुनसमेत आग्रह गरेका छन्। उनले आफ्नो टिप्पणीको शीर्षक ‘समयको चेत ?!’ राख्दै ‘समयमै चेत खुलोस्’ भनेका छन्।