काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारले हचुवाका भरमा कसैलाई पनि मुद्दा नचलाउने बताएका छन् ।
बिहीबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा प्रमुख आयुक्त राईले अनुसन्धानबाट प्राप्त तथ्य, प्रमाण र कानुनी प्रक्रियाका आधारमा मात्रै मुद्दा अघि बढाइने स्पष्ट पारे ।
‘कुनै पनि मुद्दा हचुवाका भरमा अघि बढ्दैन, अनुसन्धान अधिकृतको अनुसन्धान र बहुमतका आधारमा मात्रै अघि बढ्छ,’ राईले भने, ‘सहन्यायाधिवक्ताको टिमले सबै हेरेर मात्र पेस गर्न लायक भनेर लेखेर दिन्छ । कसैलाई लाने र हाल्ने भनेर कुनै पनि मुद्दा जाँदैनन् ।’
राईले भ्रष्टाचारसम्बन्धी उजुरीमा हदम्याद तोक्ने विषयमा पनि समितिमा छलफल हुने गरेको बताए । भ्रष्टाचारजस्तो गम्भीर विषयमा प्रमाण फेला पर्न ढिला हुँदैमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने उनको भनाइ थियो ।
उनका अनुसार अख्तियारको हालको कानुनी व्यवस्थाअनुसार बिगो नखुलेका मुद्दामा पाँच वर्षे हदम्यादको व्यवस्था छ । पाँच वर्षभित्र त्यस्ता मुद्दा टुङ्गिन नसके अदालतबाट खारेज हुन सक्ने व्यवस्था रहेको उनले बताए । यस विषयमा अदालतमा समेत अन्योल रहेको राईको भनाइ छ ।
प्रमुख आयुक्त राईले कुनै मुद्दा लामो समयसम्म अनुसन्धानमा रहनुको मुख्य कारण तथ्य र प्रमाण जुट्न नसक्नु रहेको बताए । विशेषगरी भूमिसम्बन्धी मुद्दामा कागजात, प्रमाण र विभिन्न निकायसँगको समन्वय आवश्यक पर्ने भएकाले अनुसन्धान प्रक्रिया लामो हुने गरेको उनले जानकारी दिए ।
यस क्रममा उनले ललिता निवास जग्गा प्रकरणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै भूमिसम्बन्धी मुद्दाको अनुसन्धान र प्रमाण संकलनमा समय लाग्ने गरेको बताए ।


प्रतिक्रिया