काठमाडौं-बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणलाई लिएर मधेश जागरण अभियानले गृहमन्त्री सुधन गुरुङलाई २४ घण्टे अल्टिमेटम दिएको छ।
अभियानका संयोजक कृष्ण मोहन सहनीद्वारा जारी प्रेस विज्ञप्तिमा गृहमन्त्री गुरुङलाई २४ घण्टाभित्र घटनास्थलमै पुगेर पीडित परिवारसँग प्रत्यक्ष संवाद गर्न तथा न्यायको प्रत्याभूति दिलाउन आग्रह गरिएको छ।
पीडितलाई न्याय दिन ढिलाइ गर्नु अर्को अन्याय हुने भन्दै अभियानले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडित परिवारको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
अभियानले गृहमन्त्रीसमक्ष तीन बुँदे माग अघि सारेको छ। जसमा पीडितलाई न्याय नदिने र अपराधीलाई संरक्षण गर्ने कार्य तत्काल रोक्नुपर्ने, गरिमा चौधरी हत्याकाण्डको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही सुनिश्चित गर्नुपर्ने तथा पीडित परिवारलाई सुरक्षा, सम्मान र न्याय दिलाउन सरकार अग्रसर हुनुपर्ने माग छन्।
तोकिएको २४ घण्टाभित्र गृहमन्त्री घटनास्थल नपुगेमा त्यसलाई सरकारको गैरजिम्मेवारी, असंवेदनशीलता र अपराधी संरक्षणका रूपमा लिने अभियानले चेतावनी दिएको छ। साथै अभियानले पुत्ला दहनलगायत चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।



प्रतिक्रिया