अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुम पश्चिममा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिममा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु


काठमाडौँ-रुकुम पश्चिममा आइतबार बिहान गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्चाकाकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्। उनीहरूको उपचारका क्रममा रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार बिहान साढे ८ बजेतिर सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा दुर्घटना भएको हो। आमा–छोरी क.प्र.०२००१ ख १०७० नम्बरको यात्रुबाहक गाडीमा सवार भएर रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट सुर्खेत हुँदै गुल्मी जाँदै थिए।

यात्राका क्रममा छोरी शान्दिकाले शौच गर्नुपर्ने बताएपछि स्वस्तिकाले गाडी रोक्न लगाएकी थिइन्। त्यसपछि उनीहरू गाडीबाट ओर्लिएको अवस्थामा सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे.१ ज १४८२ नम्बरको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी सिम्लीबाट प्रहरी नायब निरीक्षक धर्मबहादुर खड्काको कमाण्डमा चारजनाको टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते आमा–छोरीलाई उद्धार गरी सानीभेरी गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो।

अस्पतालमा परीक्षणपछि चिकित्सकले बिहान साढे ९ बजेतिर दुवैलाई मृत घोषणा गरेका थिए।

ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका–३ चौखेका २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक झबेन्द्र परियारका अनुसार स्वस्तिका आफ्ना श्रीमान् घनश्याम ज्ञवालीलाई भेट्न छोरीसहित रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा पुगेकी थिइन्। उनका श्रीमान् त्यहाँस्थित सनराइज बैंकमा कार्यरत छन्।

श्रीमान्लाई भेटेर आइतबार बिहान गुल्मीस्थित घर फर्किने क्रममा आमा–छोरी दुर्घटनामा परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।