अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरेलको आरोप: सरकारले निजामती प्रशासनलाई कठपुतली बनाउन खोज्यो

महासचिव पोखरेलको आरोप: सरकारले निजामती प्रशासनलाई कठपुतली बनाउन खोज्यो


काठमाडौँ-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले निजामती प्रशासनलाई कठपुतली र आदेशपालकका रूपमा सीमित गर्न खोजेको आरोप लगाएका छन्।

एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले कानुनअनुसार सञ्चालन हुनुपर्ने निजामती प्रशासनलाई मन्त्रीहरूको निर्देशन पालना गर्ने निकायका रूपमा मात्र चलाउन खोजिएको दाबी गरेका हुन्। उनले निजामती प्रशासन स्थायी सरकार भएकाले कानुन र संस्थागत मर्यादाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए।

पोखरेलले प्रधानमन्त्री तथा मन्त्रीहरूले कानुन कार्यान्वयन गर्ने कर्मचारीलाई अनावश्यक निर्देशन पालना गर्न दबाब दिइरहेको आरोप लगाए। शासकीय अनुभव र अध्ययनको अभाव रहेको नेतृत्वले प्रशासनलाई दबाबमा राख्न खोज्दा राज्यको शासकीय क्षमता कमजोर हुने उनको भनाइ छ।

सरकारले निजामती कर्मचारीको अवकाश उमेर ५५ वर्ष कायम गर्ने गरी कानुनको मस्यौदा अघि बढाएको विषयमा पनि उनले असन्तुष्टि जनाए। नागरिकको औसत आयु ७२ वर्ष पुगिसकेको अवस्थामा कर्मचारीको अवकाश उमेर घटाउने प्रस्तावले अन्योल सिर्जना गरेको उनको तर्क छ।

‘निजामती प्रशासनलाई कठपुतली बनाउने प्रयत्न भइराखेको छ। प्रधानमन्त्रीले सुरुमै हाम्रा मन्त्रीहरूलाई सिकाउनु पर्दैन, उनीहरूले भनेको काम गरे पुग्छ भन्ने ठाडो आदेश दिने काम गरिरहेका छन्,’ पोखरेलले भने।

कर्मचारी प्रशासनमा भविष्यप्रतिको अन्योल र त्रास बढेको उल्लेख गर्दै उनले वरिष्ठ कर्मचारीहरूले धमाधम राजीनामा दिन थालेको दाबी गरे। यस्तो अवस्थाले प्रशासनिक सामर्थ्य कमजोर बनाउनुका साथै समग्र राज्य सञ्चालनमा समेत नकारात्मक असर पार्न सक्ने उनले बताए।

महासचिव पोखरेलले निजामती प्रशासनलाई राजनीतिक नेतृत्वको दबाबमा नभई कानुनी व्यवस्था, पेसागत जिम्मेवारी र संस्थागत मर्यादाअनुसार सञ्चालन गर्नुपर्ने धारणा राखे।