अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरेलसँग सम्बन्ध बिग्रिएको चर्चा निराधार : अध्यक्ष ओली

महासचिव पोखरेलसँग सम्बन्ध बिग्रिएको चर्चा निराधार : अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग सम्बन्ध बिग्रिएको र मनमुटाव रहेको भन्ने चर्चा निराधार भएको बताएका छन्। अध्यक्ष ओलीले पार्टीको शीर्ष नेतृत्वबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले आफू र महासचिव पोखरेलबीच असमझदारी बढेको तथा संवादसमेत टुटेको भन्ने हल्लामा सत्यता नरहेको दाबी गरेका हुन्।

अध्यक्ष ओली र महासचिव पोखरेलबीच सम्बन्ध चिसिएको तथा महासचिव पोखरेलले अध्यक्षको फोनसमेत नउठाएको भन्ने चर्चा चलिरहेको थियो। बैठकपछि पत्रकारहरूले यसबारे राखेको जिज्ञासामा अध्यक्ष ओलीले त्यस्ता हल्लालाई अनावश्यक रूपमा विवादको विषय बनाउन नहुने बताए।

‘बिल्कुलै सत्यता छैन। उहाँले फोनसमेत उठाउनुभएन भन्ने कुरा पनि सुनियो। तर यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन। उहाँसँग मेरो कुनै मनमुटाव छैन,’ अध्यक्ष ओलीले भने। अध्यक्ष ओलीले राजनीतिक विचार र जिम्मेवारीमा फरक हुन सक्ने भए पनि त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्न नहुने धारणा राखे।

एमालेका उपमहासचिव लेखराज भट्टले पनि अध्यक्ष र महासचिवबीच कुनै विवाद नरहेको दाबी गरेका छन्। स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव भट्टले बैठकका निर्णय सर्वसम्मत रूपमा भएको बताए।

त्यस्तै, एमाले सचिव छविलाल विश्वकर्माले पनि अध्यक्ष ओली र महासचिव पोखरेलबीच रुष्टता रहेको भन्ने चर्चा गलत भएको बताएका छन्। सचिव विश्वकर्माले पार्टी अध्यक्ष, पदाधिकारी तथा स्थायी कमिटीका नेताहरू विभिन्न विषयमा निरन्तर सम्पर्क र संवादमा रहने गरेको उल्लेख गर्दै यस्ता चर्चालाई प्रायोजित रूपमा अघि सारिएको हुन सक्ने टिप्पणी गरे।

सचिव विश्वकर्माले नेतृत्वबीच कुनै विषयमा बुझाइमा एकरूपता कायम हुन नसके पनि छलफल, विमर्श र संवादबाट त्यसलाई टुङ्ग्याउन सकिने बताए। उनले पार्टी नेतृत्वबीचको सम्बन्धबारे फैलिएका भ्रममा नपर्नसमेत आग्रह गरेका छन्।