भक्तपुर-क्रियाशील पत्रकार मञ्च भक्तपुरले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापासहित विभिन्न क्षेत्रका व्यक्तित्व तथा पत्रकारलाई सम्मान गरेको छ। मञ्चले अग्रज पत्रकार स्वर्गीय टेकराज थामीलाई मरणोपरान्त क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ।
मञ्चले शनिबार भक्तपुरमा आयोजना गरेको १६औँ वार्षिक साधारण सभा, छैटौँ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री थापामगरलाई मञ्चका अध्यक्ष रमेश गिरीले सम्मान गर्नुभएको हो।
स्थानीय तहको विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा तथा भक्तपुर अस्पतालको विकास र बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि योगदान गरेको भन्दै प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई पनि सम्मान गरिएको छ।

त्यसैगरी, भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी बेपत्ता हुनुभएका नयाँ पत्रिका दैनिकमा कार्यरत अग्रज पत्रकार टेकराज थामीलाई पाँच हजार रुपैयाँ राशिसहितको मरणोपरान्त क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। उक्त पुरस्कार उहाँकी पत्नी एवं पत्रकार कालिका खड्काले ग्रहण गर्नुभयो।
कान्तिपुर टेलिभिजनमा कार्यरत तथा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारलाई पनि पाँच हजार रुपैयाँ राशिसहितको स्वर्गीय लक्ष्मीमाया कासिछ्वा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरी सम्मान गरिएको छ।

कार्यक्रममा मुख्यमन्त्री थापामगरले पत्रकारहरूले गुगलमा उपलब्ध सूचनामा मात्र सीमित नभई घटनास्थलमै पुगेर वास्तविकता बुझेर समाचार लेख्नुपर्ने बताउनुभयो। देशको विकास र समृद्धिमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधिलाई खबरदारी गर्ने, विकृति र विसङ्गति उजागर गर्ने तथा यथार्थपरक समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो।
बागमती प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो।
मुख्यमन्त्री थापामगरका अनुसार बागमती प्रदेशका ९१ प्रतिशत नागरिकको घरमा खानेपानी सुविधा पुगेको छ भने प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार गरिएको छ। प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै उहाँले सङ्घीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभयो।

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै उहाँले यस अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले प्रदेश सरकारले पत्रकारहरूका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो। उक्त सुविधा प्राप्त गर्न नेपाल पत्रकार महासंघको सिफारिस आवश्यक पर्ने उहाँले बताउनुभयो।
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले समाचार सङ्कलन तथा सम्प्रेषण गर्दा पत्रकारहरूले दलीय स्वार्थभन्दा माथि उठेर निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताउनुभयो। नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले पछिल्लो १० वर्षमा सूर्यविनायक नगरपालिकाले विकासका क्षेत्रमा उल्लेखनीय फड्को मारेको दाबी गर्नुभयो।
कार्यक्रममा मञ्चका अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक पुष्करराज बुढाथोकी र सचिव अञ्जना शिल्पकारले पत्रकारहरूको व्यावसायिक विकास, पहिचान र अधिकारका लागि मञ्च सक्रिय रहँदै आएको बताउनुभयो। उहाँहरूले पत्रकारिताको विकास र पत्रकारहरूको हकहित संरक्षणमा मञ्चले आगामी दिनमा पनि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।



प्रतिक्रिया