काठमाडौं-जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी छात्रावास (होस्टेल) सञ्चालनलाई व्यवस्थित, सुरक्षित र विद्यार्थीमैत्री बनाउन २१ बुँदे निर्देशन जारी गरेको छ। भदाै ७ गते आइतबार सूचना प्रकाशित गर्दै कार्यालयले काठमाडौँभित्र सञ्चालनमा रहेका सबै निजी छात्रावास सञ्चालकहरूलाई उक्त निर्देशन अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको हो।
प्रशासनले नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहले जारी गरेका मापदण्डहरूको पूर्ण पालना गर्न, छात्रावासमा बस्ने विद्यार्थी तथा अन्य व्यक्तिलाई मानवीय व्यवहार गर्न र सुरक्षित तथा मर्यादित वातावरण सुनिश्चित गर्न निर्देशन दिएको छ। साथै छात्रावासलाई अध्ययन तथा बसोबासका लागि उपयुक्त बनाउन आवश्यक पूर्वाधार र व्यवस्थापनमा विशेष ध्यान दिन भनिएको छ।
निर्देशनअनुसार छात्रावासमा लागुऔषध, मदिरा तथा अन्य निषेधित पदार्थको प्रयोग र कारोबार पूर्ण रूपमा रोक्नुपर्नेछ। छात्रावासमा बस्ने सबै विद्यार्थी तथा कर्मचारीको अद्यावधिक विवरण राखी नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउनुपर्ने, तोकिएको निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्ने र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी जडान गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, स्वच्छ खानेपानी, सरसफाइ, पर्याप्त प्रकाश तथा हावा–पानीको व्यवस्था, गुणस्तरीय भोजन, अध्ययनका लागि पुस्तकालय तथा शान्त वातावरणको सुनिश्चितता गर्न पनि प्रशासनले निर्देशन दिएको छ। महिला तथा पुरुष विद्यार्थीका लागि आवश्यकताअनुसार छुट्टै आवासको व्यवस्था गर्नुपर्ने, अग्नि नियन्त्रणका लागि फायर एक्स्टिङ्गुइसर र प्राथमिक उपचार सामग्री अनिवार्य राख्नुपर्ने तथा आपत्कालीन सम्पर्क नम्बरहरू स्पष्ट रूपमा देखिने स्थानमा राख्नुपर्ने उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले छात्रावास सञ्चालकहरूले जारी निर्देशनको पूर्ण पालना गर्नुपर्ने भन्दै उल्लङ्घन भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ। कार्यालयका अनुसार विद्यार्थीहरूको सुरक्षा, स्वास्थ्य, अध्ययन वातावरण र समग्र कल्याणलाई ध्यानमा राखेर उक्त निर्देशन जारी गरिएको हो।




प्रतिक्रिया