काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला पार्टीको अभिभारा देशलाई प्रतिगमनबाट संवैधानिक बाटोमा फर्काउने रहेको बताउका छन्।
विराटनगरमा आयोजित अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिगमनविरुद्धको आन्दोलनका लागि पहिले आफूलाई वैचारिक, सांगठनिक सबै हिसावले तयार गर्ने र यस आन्दोलनमा सँगै हिँड्न सक्नेलाई साथै लिएर हिड्नुपर्ने अहिलेको परिस्थिति रहेको बताएका हुन्।
वर्तमान सरकार हरेक क्षेत्रमा डर, त्रास र भयको वातावरण सिर्जना गरी स्वेच्छाचारी ढङ्गले चलिरहेको र फासीवादतर्फ उन्मुख रहेको बताउँदै अध्यक्ष ओलीले जनताले दिएको बहुमत देशमा आतङ्क सिर्जना गर्न नभई राम्रोसँग देश चलाउन दिएको ‘लाइसेन्स’ भएको धारणा राखे। उनले प्रतिगमनलाई परास्त गरी स्थानीय तहको निर्वाचनमा सफलता हासिल गर्न पार्टीलाई एकताबद्ध रुपमा सक्रिय बनाउनुपर्नेमा जोड दिए।

पार्टी पुनर्गठनका सन्दर्भमा अहिले चलिरहेका अनेक हल्लाबारे आश्वस्त पार्दै अध्यक्ष ओलीले पार्टीमा महासङ्कटको परिस्थितिमा मात्र पुनर्गठन हुन्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी रहेको बताएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा विगतमा २०१९, २०२८ र २०७७ सालमा पार्टी पुनर्गठन गरिएको स्मरण गराउँदै अध्यक्ष ओलीले यतिबेला पार्टी पुनर्गठनको आवश्यकता र औचित्य नरहेको स्पष्ट पारे।
अहिले पार्टी पुनर्गठन शब्दको दुरुपयोग गरी अध्यक्ष हटाउने भनी चलाइएको हल्लाबाट किञ्चित भ्रममा नपर्न आग्रह गर्दै उहाँले अध्यक्ष हटाउने विषय पुनर्गठनभित्र नपर्ने उनको भनाइ थियो ।
‘कसैले पनि सीमाबाहिर गएर स्वेच्छाचारी ढङ्गले दृष्टिकोण राख्ने स्थिति हुनुहुँदैन, कुनै पनि विषयमा आफ्ना दृष्टिकोण राख्ने समय हुन्छ, नेतृत्वको विषयमा पनि आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने समय हुन्छ’, अध्यक्ष ओलीले पार्टीको विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठक पनि ‘बेमौसमी बाजा’ भएको बताए।
गएको निर्वाचनमा पार्टीले धक्का खाए पनि न्यायपूर्ण र सुखी समाज निर्माण गर्ने महान उद्देश्य बोकेको हाम्रो पार्टी एउटा निर्वाचनमा पराजित भए पनि हाम्रो आन्दोलन कमजोर हुँदैन, सधै असफल र पराजित हुँदैन भन्ने आत्मविश्वासका साथ लाग्न आग्रह गरे । ‘साम्यवाद परिकल्पना भए पनि समाजवाद हाम्रै समयमा ल्याउन सकिने यथार्थ अनुमान हो’, अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य नै समाजवाद भएको स्पष्ट गर्दै यो यात्रा निकट भविष्यमा तय गरिने विश्वास व्यक्त गरे ।
मुलुकमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछिका निर्वाचनहरुमा कोशी प्रदेश अन्तर्गतका जिल्लाहरुमा पार्टीले निर्वाचन गरेको दिग्विजयको स्मरण गर्दै उनले गत फागुन २१ को निर्वाचनको परिणाम दुःखद भएको बताएका थिए। ‘हामीले आफूभित्रका कमी कमजोरीलाई सच्याउनु जरुरी छ’, उनले भने, पार्टी नबदल्ने, भोट बदल्ने ! त्योभन्दा लज्जाजनक कुरा के हुन्छ ?’
अध्यक्ष ओलीले सामाजिक सञ्जाल लगायतका साधनस्रोतलाई पार्टीको हितमा अर्थपूर्ण ढङ्गले प्रयोग गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै निराशा र हतोत्साह त्यागेर उच्च मनोबलका साथ पार्टी काममा लाग्नुपर्नेमा जोड दिए। अनेमसंघ कोशी प्रदेशको सम्मेलन सफलताको शुभकामना दिँदै अध्यक्ष ओलीले सुयोग्य, सक्रिय र क्षमतावान नेतृत्व छान्न र अर्थपूर्ण उपलब्धिका साथ सम्मेलन सम्पन्न गर्न आग्रह गरे।


प्रतिक्रिया