अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग अवरुद्ध

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग अवरुद्ध


काठमाडौँ-अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। 

सोमबार बिहान ०६:२० बजेसम्मको विवरण अनुसार विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सुचारु रहेको छ। इलामको राजदुवाली क्षेत्रमा झापा-ताप्लेजुङ सडकखण्ड मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। दुवै स्थानमा वैकल्पिक बाटोको प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

बागमती प्रदेशका सडकहरूमा जोखिम बढेपछि आवागमनमा कडाइ गरिएको छ। काभ्रेस्थित बीपी राजमार्गमा साँझ १८:०० देखि बिहान ०४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्तिलोकपथको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर सडक खण्डमा पनि साँझ १७:०० देखि बिहान ०५:०० बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा प्रतिबन्ध छ। 

सिन्धुपाल्चोकको कोदारी र लिपिङस्थित अरनिको राजमार्ग तथा रसुवाको खाल्टेस्थित त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी र स्याउ पार्किसहितको पासाङ ल्हामु सडक खण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको शिवपुरी टोखा-छहरे सडक खण्डमा पनि राति २२:०० देखि बिहान ०५:०० बजेसम्म सवारी चलाउन रोक लगाइएको छ।

गण्डकी प्रदेशका मुख्य राजमार्गहरूमा पहिरो खसे पनि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका छन्। बागलुङको बेलबगरस्थित कालिगण्डकी करिडोर, मुस्ताङको कैकु खोलास्थित बेनी-जोमसोम सडक र मनाङको खोत्रोस्थित चामे-बेसिशहर सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ।