काठमाडौं-बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार विक रहेको स्रोतले जनाएको छ। उनलाई हाल हिरासतमा राखिएको छ भने फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी भइरहेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार आरोपीको अनुसन्धान तथा बयान चलिरहेको क्रममा प्रोटोकलविपरीत भिडियो खिचिएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाल प्रहरीमाथि नै चौतर्फी प्रश्न उठेको थियो। भिडियोमा आरोपीले घटनाबारे बयान दिएको देखिन्छ।
घटनापछि भिडियो कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा भिडियो खिच्ने व्यक्तिबाटै बाहिरिएको हुन सक्ने आशंकापछि प्रहरी हवल्दार विकलाई नियन्त्रणमा लिइएको हो।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको पुष्टि गरेका छन्। उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको छ।
भिडियो खिच्ने क्रममा पाँच जना प्रहरी देखिएको बताइएको छ। यसैबीच, घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेमाथि पनि नेपाल प्रहरी मुख्यालय तथा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ।


प्रतिक्रिया