काठमाडौं – जेनजी आन्दोलनमा पूर्व गभर्नर महाप्रसाद अधिकारीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी गरेको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालयले रौतहटको वृन्दावन नगरपालिकाका ३१ वर्षीय विजय राम भन्ने विजय महरा चमारविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो।
पूर्व गभर्नर अधिकारीले जेनजी आन्दोलनकाे दाेस्राे दिन अपरिचत व्यक्तिहरूले आफ्नो घरमा प्रवेश गरी तोडफोड, आगजनी तथा लुटपाट गरेको भन्दै करिब १ करोड ५० लाख रुपैयाँ बराबरको बिगो माग गरी उजुरी दिएका थिए। उजुरीअनुसार घटनामा घर, फर्निचर, दुईवटा सवारीसाधन तथा घरभित्र रहेका विभिन्न धनमालमा क्षति पुगेको थियो। घरको दोस्रो तलाको कोठाबाट करिब ३५ तोला सुनका विभिन्न गरगहना, चाँदीका सिक्का र करिब ३ लाख रुपैयाँ नगद हराएको दाबी गरिएको छ।
प्रहरीसमक्ष दिएको बयानमा चमारले आफू आन्दोलनमा प्रत्यक्ष सहभागी नभएको बताएका छन्। भैंसेपाटीस्थित आफ्नो जुत्ता बनाउने पसल बन्द गरेर फर्कने क्रममा अधिकारीको घरमा ठूलो भीड र आगलागी देखेपछि आफू त्यहाँ पुगेको उनको बयान छ। उनका अनुसार घरभित्र मानिसहरू प्रवेश गरी सामान निकालिरहेको देखेपछि आफू पनि घरभित्र पसेर भुइँमा छरिएका सुनचाँदीका गरगहना उठाएर आफ्नो डेरामा लगेर लुकाएका थिए।
चमारले आफूले घरमा आगजनी वा तोडफोड नगरेको र अन्य व्यक्तिले गरेको तोडफोड तथा लुटपाटबारे आफूलाई जानकारी नभएको बयान दिएका छन्। आफूले घरबाट गरगहना मात्र लगेको र तीमध्ये केही पछि बरामद भएको उनको बयानमा उल्लेख छ। करिब एक वर्षपछि आफूले लुकाएर राखेको सुनका गरगहनामध्ये एक जोर झुम्का फिर्ता दिन खोज्दा अधिकारीले उनलाई गहनासहित फेला पारेको जनाइएको छ।
त्यसपछि प्रहरीलाई खबर गरिएको र खानतलासीका क्रममा थप गरगहना बरामद भएको जनाइएको छ। प्रहरी अनुसन्धानमा चमारले घटनास्थलबाट गरगहना चोरी गरेको स्वीकार गरेपनि घर तोडफोड तथा आगजनीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। घटनामा संलग्न अन्य व्यक्तिहरूलाई आफूले नचिनेको र कुनै योजना वा मिलेमतो नभएको उनको बयान छ।


प्रतिक्रिया