अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ


काठमाडौं-काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

मंगलबार बिहान बानेश्वर क्षेत्रमा ट्राफिक तथा सुरक्षा व्यवस्थापनमा खटिएकी महिला प्रहरी जवानले जथाभावी सडक पार गर्न खोजेका एक पुरुषलाई नजिकै रहेको आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। सोही क्रममा विवाद उत्पन्न हुँदा ती पुरुषले महिला प्रहरी जवानमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार घटनामा संलग्न युवकलाई घटनालगत्तै नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका-२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१० बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।

प्रहरीका अनुसार सडक सुरक्षाका लागि खटिएकी महिला प्रहरीले कठायतलाई जथाभावी बाटो नकाट्न र आकाशे पुल प्रयोग गर्न अनुरोध गरेकी थिइन्। उक्त आग्रहपछि उनी आक्रोशित बनेर प्रहरी जवानमाथि हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि आसपासमा खटिएका सुरक्षाकर्मीले कठायतलाई तत्काल पक्राउ गरेका थिए। पक्राउ परेका कठायतमाथि ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि हातपात गरेको घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।