अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवा बाढीपहिरोबारे चीनको चासो, राष्ट्रपति सिले दिए उद्धार–राहतमा तीव्रता दिन निर्देशन

रसुवा बाढीपहिरोबारे चीनको चासो, राष्ट्रपति सिले दिए उद्धार–राहतमा तीव्रता दिन निर्देशन


काठमाडौं-उत्तरी छिमेकी चीनले रसुवा र चीनको केरुङ क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गरेको छ। चिनियाँ राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङले उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि आवश्यक निर्देशन दिएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बुधबार बिहान करिब १०ः३० बजे सिचाङ (तिब्बत) को सिगात्से शहरअन्तर्गत केरुङ काउन्टीको केरुङ बन्दरगाह क्षेत्रमा नेपालतर्फ पहिरो गएको थियो। उक्त घटनापछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिवसमेत रहेका राष्ट्रपति सिले घटनालाई गम्भीरतापूर्वक लिँदै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।

राष्ट्रपति सिले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न, जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनःस्थापना गर्न र घाइतेको तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। मानवीय क्षति न्यूनीकरणका लागि उपलब्ध सबै उपाय अवलम्बन गर्न पनि उनले जोड दिएका छन्।

त्यस्तै, विपद्को निरन्तर निगरानी तथा प्रारम्भिक चेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउन, वैज्ञानिक ढंगले उद्धार कार्य सञ्चालन गर्न र थप विपद् हुन नदिन आवश्यक सावधानी अपनाउन सिले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

राष्ट्रपति सिले चीन अहिले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै सबै क्षेत्र र सम्बन्धित निकायलाई बाढी तथा आँधीबेहरी रोकथामका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्। साथै, सम्भावित जोखिम तथा लुकेका खतराको पहिचान र न्यूनीकरणलाई तीव्र बनाउँदै ठूला विपद् तथा दुर्घटना रोक्न आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

यसैगरी, चिनियाँ प्रधानमन्त्री लि छ्याङले पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र जोखिम न्यूनीकरणका कामलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र व्यवस्थापनमा जोड दिएका छन्।