अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणपछि प्रधानमन्त्री शाह काठमाडौं फर्किए

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणपछि प्रधानमन्त्री शाह काठमाडौं फर्किए


काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्गबाट नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाहले प्रभावित बस्तीहरूको भौतिक अवस्था, जनधनको क्षति तथा उद्धार–राहत कार्यको अवस्थाबारे स्थलगत जानकारी लिएपछि काठमाडौं फर्किएका हुन्।

रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन्। बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका उनले नुवाकोटका प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकन गर्दै स्थानीय अवस्था बुझेका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधारहरू यथाशीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्रीको टोली आजै काठमाडौं फर्किएको छ।