काठमाडौं-नेपाल प्रहरीले विपद् राहत तथा सहयोगका नाममा सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट हुन सक्ने साइबर स्क्यामबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार तथा राहत कार्य जारी छ। यही संवेदनशील अवस्थाको दुरुपयोग गर्दै केही व्यक्तिले राहतका नाममा रकम उठाएर ठगी गर्न सक्ने भन्दै प्रहरीले नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो।
प्रहरीका अनुसार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’ को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने तथा आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी फर्जी क्यूआर कोड बनाएर सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता माध्यमबाट ठगी हुन सक्ने जोखिम छ।
त्यस्तै, फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम र भाइबरलगायत प्लेटफर्ममा ‘राहत कोष’ वा ‘सहयोग अभियान’ का नाममा फर्जी पेज तथा समूह सञ्चालन गर्ने, ‘राहत सहयोग दर्ता’ का नाममा फोन गरी व्यक्तिगत तथा बैंकिङ्ग विवरण माग्ने र फिसिङ लिंक पठाएर ओटीपी तथा पासवर्ड चोरी गर्ने गतिविधिप्रति पनि सचेत रहन प्रहरीले आग्रह गरेको छ।
अपरिचित नम्बरबाट ‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनु’ भन्दै आर्थिक सहयोग माग्ने घटनासमेत हुन सक्ने भएकाले रकम पठाउनुअघि सम्बन्धित व्यक्तिको पहिचान अनिवार्य रूपमा पुष्टि गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेजबाट मात्र पुष्टि गर्न आग्रह गरेको छ। अपरिचित व्यक्ति वा पेजबाट प्राप्त क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न तथा फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी मागिएमा त्यस्ता विवरण नदिन पनि प्रहरीले सचेत गराएको छ।
अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा पैसा पठाउनुअघि भिडियो कल वा प्रत्यक्ष फोनमार्फत पहिचान पुष्टि गर्न प्रहरीले विशेष अनुरोध गरेको छ।
विपद् राहतका नाममा कुनै व्यक्ति वा समूहले स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तत्काल सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया