काठमाडौं-रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि पत्रकार तथा पत्रकारका परिवारका सदस्यहरू सम्पर्कविहीन भएको भन्दै नेपाल पत्रकार महासंघले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिअनुसार समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका महासंघका पूर्वकेन्द्रीय सदस्य तथा नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार थामी हिजो बिहानदेखि सम्पर्कमा छैनन्। उनी गत सोमबार कार्यालयबाट चार दिनको बिदा लिएर केरुङ गएका थिए।
महासंघका अनुसार थामी हिजो बिहान केरुङबाट फर्किने क्रममा टिमुरे पुगेका थिए। बिहान ८ः२१ बजे टिमुरे पुगेको जानकारी प्राप्त भएको र त्यसको करिब १९ मिनेटपछि अर्थात् ८ः४० बजे भोटेकोशीमा आएको भीषण बाढीपश्चात् उनीसँग सम्पर्क हुन नसकेको बताइएको छ।

यस्तै, रातोपाटीमा कार्यरत पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य पनि सम्पर्कविहीन भएका छन्। नुवाकोटको विदुर नगरपालिका–७ निवासी पौडेलका बुबा, आमा, काका, काकी र बहिनीसँग बाढीपछिदेखि सम्पर्क हुन नसकेको जानकारी उनले दिएका छन्।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत सम्पर्कविहीन पत्रकार तथा परिवारका सदस्यहरूको खोजी कार्यलाई तत्काल तीव्र बनाउन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। साथै बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार सेवा अवरुद्ध भई सञ्चारमाध्यम सञ्चालनमा समेत असर पुगेको उल्लेख गर्दै सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन र सञ्चारमाध्यमलाई वैकल्पिक व्यवस्थामार्फत सहयोग गर्न सबै पक्षसँग अपिल गरिएको छ।


प्रतिक्रिया