काठमाडौं-रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकैदिन २७ करोड ३३ लाख रुपैयाँ सहयोग संकलन भएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि सहयोग रकम एकद्वार प्रणालीमार्फत संकलन गर्न थालेको हो। सोही क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा विभिन्न दाता तथा संस्थाबाट प्राप्त सहयोग रकम बुझिरहेका छन्।
पछिल्लो ६ घण्टाको अवधिमा विभिन्न १० वटा निजी तथा सरकारी कम्पनी तथा संस्थाले अर्थ मन्त्रालयमा उपस्थित भई कुल २७ करोड ३३ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्।
योगदान गर्ने कम्पनी तथा संस्थाहरूले रसुवा बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारसँगै खोज र पुनर्स्थापनाका लागि सहयोग गरेका हुन्।
सरकारले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन र प्रभावित क्षेत्रमा पुनर्स्थापनाका लागि आवश्यक स्रोत जुटाउने कामलाई तीव्रता दिएको जनाएको छ।



प्रतिक्रिया