अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपद्ग्रस्त क्षेत्रमा समन्वयको अभाव देखियो, वैकल्पिक उद्धार योजनाको आवश्यक: महासचिव पोखरेल

विपद्ग्रस्त क्षेत्रमा समन्वयको अभाव देखियो, वैकल्पिक उद्धार योजनाको आवश्यक: महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद्ग्रस्त क्षेत्रमा सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय हुन नसकेको बताएका छन्।

बिहीबार विपद्ग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै उद्धार, राहत र पुनर्स्थापनाका लागि तत्काल थप वैकल्पिक योजना आवश्यक रहेको बताएका हुन्।

महासचिव पोखरेलका अनुसार नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकलाई बेसक्याम्प बनाएर सेनाको कमान्डमा हवाई उद्धार भइरहेको छ। उनले यसलाई सकारात्मक प्रयास भने पनि स्थलगत अवस्थाको वास्तविकता र सरकारी संयन्त्रबीच ठूलो खाडल रहेको दाबी गरेका छन्।

महासचिव पोखरेलले सुरक्षा निकायहरूबीच आपसी समन्वय र सहकार्य प्रभावकारी नरहेको तथा गृह मन्त्रालय र जिल्ला प्रशासनले राहत तथा उद्धारको प्रभावकारी कमान्ड सम्हाल्न नसकेको बताएका छन्। स्थानीय प्रशासन र जनप्रतिनिधिको नेपाली सेनासँग सहज पहुँचसमेत स्थापित हुन नसकेको उनको भनाइ छ।

पोखरेलले त्रिशूली नदीपारिका क्षेत्रमा पुग्ने मुख्य ‘लाइफलाइन’ पूर्णरूपमा विच्छेद भएकाले स्वयंसेवक तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन कठिनाइ भएको बताएका छन्।

त्यस्तै, बाढीबाट विस्थापित तथा अलपत्र परेकाहरूको संख्या ठूलो भएकाले तत्काल सबै क्षेत्रमा हवाई उद्धार सम्भव नदेखिएको उनले उल्लेख गरेका छन्। हेलिकप्टरको सीमितता र प्रतिकूल मौसमले उद्धार कार्य थप चुनौतीपूर्ण बनाएको उनको भनाइ छ।

बिजुली र सञ्चार सेवा अवरुद्ध हुँदा सूचना आदानप्रदानमा समेत समस्या देखिएको तथा प्रभावित क्षेत्रमा स्थलमार्गबाट उद्धार र राहत पुर्‍याउने भरपर्दो वैकल्पिक योजना तत्काल आवश्यक रहेको पोखरेलले बताएका छन्।

सरकारलाईमहासचिव पोखरेलका पाँच सुझाव

महासचिव पोखरेलले सरकारलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि तत्काल पाँच वैकल्पिक उपाय अवलम्बन गर्न सुझाव दिएका छन्।

उनले तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई समेटेर तत्काल एकीकृत ‘कमाण्ड पोस्ट’ निर्माण गर्नुपर्ने बताएका छन्।

त्यस्तै, मुख्य लाइफलाइन नजोडिएसम्म तुइन, फलामे डोरी वा साना अस्थायी पुलजस्ता वैकल्पिक माध्यमबाट जोखिममा रहेका क्षेत्रमा खानेपानी, औषधि र खाद्यान्न पुर्‍याउनुपर्ने उनको सुझाव छ।

स्थलमार्ग खुलाउन निजी क्षेत्रका ठूला हेभी इक्विपमेन्टसमेत परिचालन गरी युद्धस्तरमा काम गर्नुपर्ने तथा नदी र ठूला खोलामा बेलिब्रिज जडान गर्नुपर्ने उनले बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा थुप्रिएको भग्नावशेष तथा दलदलमा दबिएका शवको खोजीलाई तीव्रता दिन थप जनशक्ति र आधुनिक उपकरण परिचालन गर्नुपर्ने र सुरक्षा निकायसँगै कामको प्रकृतिअनुसार नागरिक स्वयंसेवकलाई समेत राहत तथा उद्धारमा परिचालन गर्नुपर्ने पोखरेलको सुझाव छ।

‘यो मानवीय संकटको बेला राजनीति वा प्रक्रियागत विलम्ब हेर्ने छुट कसैलाई छैन,’ पोखरेलले भनेका छन्, ‘सरकारको ध्यान यसतर्फ यथाशीघ्र जाओस्।’

१. तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूलाई समेटेर एकीकृत ‘कमाण्ड पोस्ट’ तुरुन्त निर्माण गर्ने।

२. मुख्य लाइफलाइन नजोडिएसम्म वैकल्पिक माध्यम (जस्तै: तुइन, फलामे डोरी वा साना अस्थायी पुल) मार्फत जोखिममा रहेका क्षेत्रमा खानेपानी, औषधि र खाद्यान्न पुर्‍याउने।

३. स्थलगत मार्ग खुलाउन निजी क्षेत्रका ठूला हेभी इक्युपमेन्टहरूलाई समेत परिचालन गरी युद्धस्तरमा काम गर्ने र नदी तथा ठूला खोलाहरूमा बेलिब्रिज जडान गर्ने।

४. डुबान क्षेत्रको भग्नावशेष र दलदलमा दबेका शवहरूको खोजी कार्यलाई तीव्रता दिन थप जनशक्ति र आधुनिक उपकरण परिचालन गर्ने।

५. राहत र उद्धारका लागि सुरक्षा निकायका अतिरिक्त कामको प्रकृतिका आधारमा नागरिक स्तरवाट स्वयंसेवकहरूलाई तत्काल परिचालन गर्ने।