काठमाडौं-रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बैंकले बिहीबार विज्ञप्ति जारी गर्दै रसुवा र नुवाकोटका शाखा कार्यालयहरूमा ठूलो क्षति पुगेको जनाएको हो।
बैंकका अनुसार रसुवा जिल्लास्थित स्याफ्रुबेशी शाखा तथा नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ। त्यसैगरी त्रिशूली शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भई माटोले पुरिएको अवस्थामा रहेको बैंकले जनाएको छ। ती शाखाहरूमा भएको क्षतिका कारण अर्को व्यवस्था नभएसम्म सेवा सञ्चालन गर्न नसकिने भएकाले शाखाहरू बन्द रहने जानकारी दिइएको छ।
बैंकले प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ। आवश्यक परे कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी समेत गरिएको बैंकले उल्लेख गरेको छ।
एन आई सी एशिया बैंकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।


प्रतिक्रिया