काठमाडौं-नेपाल-चीन सीमा नजिकै तिब्बततर्फ पहिरोका कारण थुनिएर बनेको अस्थायी तालको पानीको सतह केही घटेपछि चिनियाँ अधिकारीहरूले रोकिएको उद्धार तथा राहत कार्य पुनः सुरु गरेका छन्।
ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिम बढेपछि केही घण्टाअघि उद्धार कार्य स्थगित गरिएको थियो। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार तालको पानीको सतहमा कमी आउन थालेपछि अवस्था क्रमशः सामान्य बन्दै गएको छ र उद्धार अभियान फेरि सञ्चालनमा ल्याइएको हो।
पछिल्लो जानकारीअनुसार तालबाट पानी बाहिर बहने (ओभरफ्लो) प्रक्रिया रोकिएको छ। यसअघि पानीको बहाव तीव्र बनेर बाढीको जोखिम बढेपछि चिनियाँ पक्षले करिब तीन घण्टासम्म उद्धार प्रयास रोकेको थियो।
तिब्बततर्फको जलाधार क्षेत्रमा विकसित यही परिस्थितिका कारण नेपालतर्फको भोटेकोशी र त्रिशूली नदीमा बाढीको जोखिम बढेको मानिएको छ। तालको सतह घटेको र बहाव नियन्त्रणमा आएको खबरले केही राहतको संकेत दिए पनि जोखिम पूर्ण रूपमा टरेको भने छैन।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदी तटीय क्षेत्रमा अझै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी रसुवाको स्याफ्रुबेँसीदेखि मुग्लिनसम्मका नदी किनारका बासिन्दालाई अर्को सूचना जारी नहुँदासम्म सुरक्षित स्थानमै बस्न अनुरोध गरिएको छ।
अधिकारीहरूले तालको अवस्था निरन्तर निगरानीमा राखिएको जनाउँदै स्थानीय प्रशासन, सुरक्षा निकाय र उद्धारकर्मीलाई सतर्क रहन निर्देशन दिएका छन्।


प्रतिक्रिया