काठमाडौं-सरकारले गृह सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव शर्मालाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो।
यसअघि शर्मा रक्षा मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए। उनले २०८२ मंसिरदेखि रक्षा मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्दै आएका थिए।
हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ। श्रेष्ठले दिएको राजीनामा पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।
श्रेष्ठ आगामी भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशको केही दिनअघि नै उनलाई गृह मन्त्रालयबाट हटाएर सरकारले शर्मालाई गृह सचिवको जिम्मेवारी दिएको हो।
शर्माले अब गृह मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।


प्रतिक्रिया