काठमाडौं-रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ। नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार नदी किनार तथा विभिन्न जिल्लामा हालसम्म ५५३ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा २२२ जनाको शव भेटिएको छ। यस्तै, नवलपरासी पूर्वमा १३४, गोरखामा ४७, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा ३१, नवलपरासी पश्चिममा २८ तथा रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारीको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि हालसम्म १ हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ। पछिल्लो विवरणअनुसार रसुवामा ५७२ जना, नुवाकोटमा ८९८ जना तथा धादिङमा तीन जनाको उद्धार गरिएको छ।
बाढीबाट घाइते भएका तथा उद्धार गरिएका व्यक्तिमध्ये ९७ जनाले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार पाएका छन्। केही उपचाररत छन् भने केही उपचारपछि डिस्चार्ज भइसकेका छन्।
नेपाल प्रहरीले बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।



प्रतिक्रिया