अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवा बाढी प्रभावितको उद्धार र राहत युद्धस्तरमा अघि बढाउन अधिवक्ता गिरीको आग्रह

रसुवा बाढी प्रभावितको उद्धार र राहत युद्धस्तरमा अघि बढाउन अधिवक्ता गिरीको आग्रह


काठमाडौं-अधिवक्ता विष्णु गिरीले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

अधिवक्ता गिरीले बाढीका कारण विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले योजनाबद्ध कदम चाल्नुपर्ने बताएका छन्। उद्धार कार्यमा देखिएको ढिलाइ र आवश्यक उपकरणको अभावप्रति चिन्ता व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय सहयोग तथा उच्च प्रविधिको प्रयोगमा सरकारले ढिलाइ गर्न नहुने बताएका हुन्।

कतिपय बाढी प्रभावित क्षेत्रमा अझै राहत नपुगेको गुनासो आइरहेको भन्दै गिरीले तत्काल त्यस्ता क्षेत्रमा राहत सामग्री पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएका छन्। टनेलभित्र, नदी तथा खोलाको किनार र विकट क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने र उच्च प्रविधिसहितका आवश्यक उपकरण परिचालन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत तथा उद्धार सामग्री पुर्‍याउन स्थानीय तहलाई थप स्रोत, जनशक्ति र अधिकारसहित परिचालन गर्न सके उद्धार तथा राहत कार्य अझ प्रभावकारी हुने उनको भनाइ छ।

अधिवक्ता गिरीले रसुवामा बाढीपछि स्याफ्रुबेँसी, टिमुरे र भोटेकोशी आसपासका बासिन्दा तथा पर्यटकहरू सम्पर्कविहीन रहेको उल्लेख गर्दै विद्युत् र टेलिफोन सेवा अवरुद्ध हुँदा जीवित रहेका नागरिकको अवस्था बुझ्न तथा आफन्तसँग सम्पर्क गर्न कठिनाइ भइरहेको बताएका छन्।

उनले लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। सडकमा जुनसुकै बेला पहिरो खस्न वा बाढी आउन सक्ने जोखिम रहेको उल्लेख गर्दै उनले अत्यावश्यकबाहेक जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन्।