रसुवा-भीषण बाढीका कारण रसुवामा ठूलो भौतिक क्षति भएको छ। बुधबार बिहान लेन्दे खोला (भोटेकोसी)मा आएको बाढीले स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको हो।
बाढीपछि प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा उद्धारका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। सरकारले सबै हेलिकप्टर कम्पनीलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीका कारण रसुवामा ठूलो क्षति भएको जानकारी दिएका छन्। सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार लेन्दे खोला (भोटेकोसी)मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको छ। उनका अनुसार टिमुरेसहित दुईवटा बजार पूर्णरूपमा तहसनहस भएका छन्।
‘दुईवटा बजार तहसनहस भएको छ,’ अधिकारीले बताए, ‘टिमुरे र सँगैको अर्को एउटा बजार तहसनहस भएको छ। रसुवा भन्सार क्षेत्रमा ठूलो सङ्ख्यामा गाडीहरू र अन्य सामग्रीहरू थिए। ती सबै बगेका छन्।’
बाढीले बजार र भन्सार क्षेत्रमै ठूलो क्षति पुर्याएको अधिकारीले बताए। गत वर्षको बाढीले क्षति पुर्याएपछि भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुलसमेत यसपटकको बाढीले बगाएको छ।
बाढीले सडक, पुल, बजार, भन्सार क्षेत्र तथा त्यहाँ रहेका सवारीसाधन र अन्य सामग्रीमा ठूलो क्षति पुर्याएपछि उद्धार तथा क्षतिको विवरण सङ्कलन गर्ने काम अघि बढाइएको छ। प्रभावित क्षेत्रमा थप क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय तथा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएका छन्।


प्रतिक्रिया