अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिशूली–३ ‘ए’ आयोजनामा फसेकाको उद्धार गर्न स्पेशल फोर्स परिचालनको तयारी

त्रिशूली–३ ‘ए’ आयोजनामा फसेकाको उद्धार गर्न स्पेशल फोर्स परिचालनको तयारी


काठमाडौं-भोटेकोसी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धारका लागि सरकारले हेलिकप्टरमार्फत स्पेशल फोर्स परिचालन गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार आयोजनाको टनेलमा फसेकाहरूको उद्धार कार्य रातभरदेखि निरन्तर जारी छ। तर, नदीको जलसतह बढेसँगै उद्धारमा थप चुनौती उत्पन्न भएको छ।

आज बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको बताइएको छ। नदीको सतह अत्यधिक बढेपछि आयोजनाको किनार तीव्र रूपमा कटान हुन थालेको छ।

बाढी र पहिरोका कारण आयोजना क्षेत्रको अवस्था जोखिमपूर्ण बने पनि सरकारले पूर्ण सतर्कताका साथ उद्धार तथा क्षति न्यूनीकरणको काम अघि बढाउने जनाएको छ। आयोजनास्थलमा जमेको माटो तथा लेदो हटाउन डोजर र अन्य भारी उपकरण पुनः परिचालन गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसैगरी, पहिरो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउसमा रहेका महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्न विशेष टोली परिचालन गर्ने तयारी गरिएको छ।

आयोजनाको पावर हाउस नियन्त्रण तथा निगरानीका लागि प्रयोग भइरहेका १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर तथा सेटअप बक्सलगायतका उपकरण निकाल्न हेलिकप्टरमार्फत स्पेशल फोर्सको टोली आयोजनास्थलमा उतार्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सडक पहुँच अवरुद्ध भएका कारण पुरिएको भवननजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने योजना बनाइएको छ।

सरकारले आयोजनास्थलको समग्र अवस्था निरन्तर अवलोकन गर्दै उद्धार, जोखिम न्यूनीकरण तथा आवश्यक उपकरण सुरक्षित गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।