अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले भने- सुखदुःखका साथी हौँ, सधैँ साथमा उभिन्छौँ

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले भने- सुखदुःखका साथी हौँ, सधैँ साथमा उभिन्छौँ


काठमाडौं-भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर समवेदना प्रकट गरेका छन्।

रक्षामन्त्री सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्। उनले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै सिंहले आकस्मिक बाढीका कारण नेपालका नागरिकसँगै भारतीय तथा अन्य देशका नागरिकहरू समेत प्रभावित भएको उल्लेख गरेका छन्। उनले यस प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारहरूको पीडामा भारत सरकार र जनता नेपालसँगै रहेको बताएका छन्।

नेपाल र भारतबीचको ऐतिहासिक तथा निकट सम्बन्धलाई स्मरण गर्दै सिंहले भारत नेपालका लागि सधैं ‘सुख–दुःखको साथी’ रहेको बताएका छन्। “एक निकट मित्र र साझेदारका रूपमा भारत सधैं नेपालको साथमा उभिएको छ। यस कठिन घडीमा पनि हामी हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग काँधमा काँध मिलाएर उभिएका छौं,” उनले उल्लेख गरेका छन्।

उनले खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका प्रयासहरूमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत दोहोर्‍याएका छन्।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको छ।