काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालजस्ता जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको भार विकसित राष्ट्रहरूले व्यहोर्नुपर्ने बताएका छन्।
सोमबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि प्रदान गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै अध्यक्ष ओलीले वातावरणीय तथा पर्वतीय विपद्मा नेपालको कुनै भूमिका नरहेको उल्लेख गरे।
अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष ओलीले जलवायु क्षतिपूर्तिको विषयलाई नेपालले प्राथमिकताका साथ उठाउनुपर्ने बताए।
अध्यक्ष ओलीले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूले प्राप्त गर्ने सहायता दया वा करुणाको विषय नभई अधिकारको विषय भएको बताए।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई उनले विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा व्याख्या गरे। उक्त घटनालाई ‘ग्लोबल फेनोमेनन’ र ‘इन्भायरमेन्टल फेनोमेनन’ को प्रभावका रूपमा उल्लेख गर्दै उनले नेपालले जलवायु परिवर्तनका मुद्दालाई विश्वमञ्चमा उठाउन अविलम्ब सगरमाथा संवाद आयोजना गर्नुपर्ने सुझाव दिए।


प्रतिक्रिया