अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढीको क्षति र उद्धारबारे आज सर्वदलीय बैठक बस्दै

भोटेकोशी बाढीको क्षति र उद्धारबारे आज सर्वदलीय बैठक बस्दै


काठमाडौँ-भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भएको जनधनको क्षतिको अवस्था, बेपत्ताको खोजी तथा उद्धार, पीडितलाई राहत वितरण र विस्थापितको पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ।

यसअघि बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान तथा आगामी दिनमा हुन सक्ने विपद्बाट हुने क्षति न्यूनीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति गरेको थियो । उक्त सहमतिलाई कार्यान्वयनमा लैजाने तथा संयन्त्र गठनको प्रक्रियालाई अघि बढाउने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ।

भोटेकोशी बाढीपछि प्रभावित जिल्लामा खोजी तथा उद्धार कार्य जारी रहेकाले उद्धारलाई थप प्रभावकारी बनाउने, राहतलाई व्यवस्थित र एकद्वार प्रणालीबाट वितरण गर्ने तथा प्रभावितको दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक योजना बनाउने विषय बैठकका प्रमुख एजेन्डा रहनेछन्।