काठमाडौं-नेकपा (एमाले) का अनुसन्धान विभाग प्रमुख विष्णु रिमालले देश महाविपत्तिको सामना गरिरहेका बेला सरकारको प्रभावकारी उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेता रिमालले विपद् व्यवस्थापन, उद्धार, राहत तथा पुनर्निर्माणका काम राज्यका आधिकारिक संयन्त्रमार्फत सञ्चालन हुनुपर्ने बताएका छन्।
नेता रिमालले रिमालले वर्तमान परिस्थितिमा सत्तारूढ दल र सरकारबीच समेत पर्याप्त समन्वय र भेटघाटको अनुभूति हुन नसकेको टिप्पणी गरेका छन्।
नेता रिमालले सत्तारूढ दलले सर्वदलीय बैठक बोलाएर विभिन्न राजनीतिक दलबाट सुझाव संकलन गरिरहेको भए पनि ती सुझाव कार्यान्वयन गर्ने सरकारको सक्रियता अपेक्षित रूपमा नदेखिएको उल्लेख गरेका छन्। ‘सत्तारूढ दलले सर्वदलीय बैठक बोलाउँछ, दलहरू जान्छन् र सुझाव पनि दिन्छन्। तर सत्तारूढ दल र सरकारबीच भेटघाट भएको नै अनुभूति हुँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
नेता रिमालले सरकारको भूमिका वास्तविक र प्रत्यक्ष रूपमा देखिनुपर्नेमा जोड दिँदै ‘सरकार हुनुपर्ने त एक्चुअल हो, भर्चुअल होइन’ भनेका छन्। साथै वर्तमान कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले ‘सोचौं है, यसरी नै डुङ्गा पार लाग्छ त ?’ भन्ने टिप्पणी गरेका छन्।
नेता रिमालको भनाइले विपद्को संवेदनशील समयमा सरकारको समन्वय, निर्णय कार्यान्वयन क्षमता र जनतामाझ देखिने उपस्थिति थप प्रभावकारी हुनुपर्ने आवश्यकता औंल्याएको छ।



प्रतिक्रिया