काठमाडौं-भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेकपा (एमाले)ले गठन गरेको ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ आजदेखि औपचारिक रूपमा परिचालन भएको छ।
एमालेले भदौ १५ गते पार्टीका सचिव तथा बाग्मती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा उक्त समिति गठन गर्दै विभिन्न जिल्लामा संयोजक तोकी कार्यविभाजन गरेको थियो। सोही निर्णयअनुसार केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रुपनारायण श्रेष्ठको नेतृत्वमा युथ भोलेण्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठसहितको टोली आवश्यक खाद्य सामग्री लिएर नुवाकोटतर्फ प्रस्थान गरेको छ। टोलीले बाढी प्रभावित नागरिकका लागि निःशुल्क भोजन व्यवस्थापन गर्ने जनाएको छ।

त्यसैगरी, रसुवाका लागि संयोजक तोकिएका पार्टीका केन्द्रीय सदस्य तथा जिफण्ट अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको टोली भोलि त्यसतर्फ जाने तयारीमा रहेको छ। धादिङ र चितवन जिल्लाको जिम्मेवारी पाएका बाग्मती प्रदेश कमिटीका उपसचिव रमेश आचार्य नेतृत्वको टोली पनि प्रभावित क्षेत्रमा परिचालन हुने तयारीमा रहेको बताइएको छ।
समितिको कार्यविभाजनअनुसार सबै टोलीमा एमालेका जनसंगठन, प्रदेश कमिटी र जिल्ला कमिटीहरूलाई समेत परिचालन गरिने व्यवस्था गरिएको छ। पार्टी सचिव तथा समितिका संयोजक महेश बस्नेतले आज च्यासलस्थित केन्द्रीय कार्यालयबाट नुवाकोटतर्फ जाने टोलीलाई विदाइ गर्दै राहत वितरण प्रदेश सरकार, स्थानीय तह, प्रशासन र पीडितसँगको समन्वयमा गरिने जानकारी दिए। प्रभावित क्षेत्रमा पीडितलाई तत्काल खाना उपलब्ध गराउन ‘फुड स्टेशन’ स्थापना गरिने पनि उनले बताए।

एमालेले भोटेकोशी र त्रिशुली नदीको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय यसअघि नै गरिसकेको छ।
राष्ट्रिय युवा संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), युथ भोलेण्टियर फोर्स, जिफण्टलगायत एमालेका जनसंगठन तथा स्थानीय पार्टी कमिटीहरू भदौ १० गतेदेखि नै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा सक्रिय रूपमा खटिएका छन्।


प्रतिक्रिया