अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार राहत, उद्धार र पुनःस्थापनामा असफल भएको एमाले सचिव बस्नेतको आरोप

सरकार राहत, उद्धार र पुनःस्थापनामा असफल भएको एमाले सचिव बस्नेतको आरोप


काठमाडौं-नेकपा (एमाले)का सचिव महेश बस्नेतले महाविपत्तिको समयमा राहत, उद्धार तथा पुनःस्थापनाको नेतृत्व सरकारले गर्नुपर्ने भए पनि सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले सरकार प्राप्त नगद तथा अन्य स्रोत–साधनलाई केन्द्रीकृत गरेर बसेको दाबी गरेका छन्। सचिव बस्नेतले विपद्पीडित नागरिक राहत र उद्धारका लागि हारगुहार गरिरहे पनि सरकारको कार्यशैली प्रभावकारी नभएको बताएका छन्।

सचिव बस्नेतले विदेशी सहयोग नलिने, प्रदेश तथा स्थानीय सरकारलाई गाली गर्ने र राहत तथा सहयोग लिएर जाने स्वयंसेवक तथा दाताहरूलाई समेत पीडितसम्म पुग्न नदिएको आरोप लगाए। उनले बाटोमै राहत सामग्री नियन्त्रणमा लिइएको दाबी गर्दै यसले पीडितहरू थप समस्यामा परेको उल्लेख गरेका छन्।

सचिव बस्नेतले सत्तारूढ दलले सर्वदलीय बैठक बोलाए पनि दलहरूले दिएका सुझाव कार्यान्वयन हुन नसकेको बताए। सरकार र सत्तारूढ दलबीच नै पर्याप्त समन्वय तथा छलफल नभएको उल्लेख गर्दै बस्नेतले ‘एकद्वार प्रणाली’ मार्फत राहत, उद्धार र पुनःस्थापनाको काम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकार असफल भएको आरोप लगाए।

सचिव बस्नेतले विपद्को यस कठिन घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर सबै पक्ष मिलेर राहत, उद्धार र पुनःस्थापनाको पवित्र अभियानमा जुट्नुपर्ने आवश्यकता औंल्याएका छन्।